काठमाडौं - सरकारले वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याएको निर्णय सत्तारुढ दलबीचको सहमतिमा लिइएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्पष्ट पारेका छन्।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘वृद्धभत्ताको उमेर किन बढाइयो?’ भनी प्रश्न उठाएपछि जवाफ दिँदै अर्थमन्त्री पौडेलले सबै सत्तारुढ दलहरूबीचको सहमति अनुसार उमेरहद बढाइएको स्पष्ट पारे।

उनले भने, ‘यो निर्णय सरकारले एक्लै गरेको होइन, सत्तारुढ गठबन्धनकै छलफलपछि गरिएको हो।’

साथै उनले अहिले भत्ता खाइपाई रहेका व्यक्तिहरूको हकमा यो निर्णयले असर नपर्ने पनि प्रस्ट पारे। ‘भत्ता पाइरहेका वृद्धवृद्धाले पाउने सुविधा रोकिने छैन’ उनले स्पष्ट गरे।

यसअघि ६८ वर्ष पुगेका नागरिकले वृद्धभत्ता पाउने व्यवस्था थियो। अब भने उमेरहद बढाएर ७० वर्ष पुर्‍याइएपछि सर्वसाधारणले यो निर्णयलाई त्यति मन पराएका छैनन्। देशमा बेरोजगारी उच्च हुँदा कतिपय परिवारको जीविकोपार्जन वृद्धभत्तामै निर्भर रहँदै आएको छ।