काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले देशलाई नयाँ अभिभावक नेतृत्वको आवश्यकता रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई २०८३ सालमा सन्यास लिन आग्रह गरेका छन्।
उनले भने, ‘०८३ मा तीन संन्यास, तीन अभिभावक हुन सक्ने अवधारणाले यदि मूर्त रूप पायो भने जनतामा आशा र उत्साह जाग्नेछ।’ झापा मेचीनगरस्थित धुलाबारीमा आयोजना गरिएको खानेपानी ट्यांकी शिलान्यास कार्यक्रममा उनले उक्त विचार व्यक्त गरेका हुन्।
शर्माले देशले समग्र राष्ट्रिय नेतृत्व गर्न सक्ने योग्य अभिभावक खोजिरहेको बताए। त्यस्ता परिवर्तनका लागि २०८३ साल उपयुक्त हुने उनको धारणा थियो।
साथै, शर्माले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा नेतृत्व परिवर्तन हुने संकेत पनि गरे। उनले पार्टीको विधानमा सभापति परिवर्तनको स्पष्ट व्यवस्था रहेको जनाउँदै नयाँ सभापति को हुने भन्ने विषयमा छलफल चलिरहेको जानकारी दिए। ‘अब हामी परिवर्तनमा जान्छौं,’ उनले जोड दिए।


0 comment