काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघीय संसद्को बैठक बहिष्कार गरेको छ। संसद् बैठकमा विरोधकै क्रममा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले  संसद जबरजस्ती ढंगले चलाएसम्म राप्रपा त्यसमा सहभागी नहुने स्पष्ट पारे ।

लिङ्देनले भत्ता नलिने निर्णयप्रति स्पष्ट गर्दै भने, ‘हामीले जब बैठक बहिष्कार गर्छौं, राप्रपाका सदस्यहरूको नाममा आउने बैठक भत्ता राजश्वमा फिर्ता हुने व्यवस्था होस्।’

सोमबारको संसद् बैठकमा राप्रपा र रास्वपाका सांसदहरूले बैठक सुरु हुनेबित्तिकै विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले बजेट पारित गर्ने बाध्यकारी समय भएको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विरोध नरोकिएपछि सभामुखले लिङ्देनलाई बोल्न समय दिएका थिए।

लिङ्देनले संसदीय मर्यादाविपरीत जबरजस्ती संसद् सञ्चालन भएको आरोप लगाउँदै सरकारलाई चेतावनीसमेत दिए, ‘संसद्मा फरक मत राखिरहेका दलहरूको विरोध भइरहेका बेला जबरजस्ती संसद् अगाडि बढाउनु सभामुखका लागि पनि राम्रो हुँदैन।’

गृहमन्त्री रमेश लेखक संलग्न रहेको भनिएको भिजिट भिसा प्रकरणको छानबिन र राजीनामाको माग गर्दै आएको राप्रपाले आगामी बैठकहरूमा पनि निरन्तर बहिष्कार जारी राख्ने जनाएको छ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद सचिवालयलाई पत्र पठाएर बैठक बहिष्कार अवधिको भत्ता राजस्वमा फिर्ता गरिदिन अनुरोध गरेका छन्।