काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरूलाई बोल्न नदिएको आरोप लगाएका छन्। 

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्ने दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भए पनि त्यसविपरीत सभामुखले आफूहरूलाई बोल्न नदिएको बताए। 

झाले सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न नसकेको र पेलेरै लाने व्यवहार देखाएको गुनासो गरे। प्रमुख प्रतिपक्षी दलले सत्तापक्षसँग उधारो सहमति गरेकाले आफूहरूले आन्दोलनलाई निरन्तरता दिएको उनले बताए। 

भिजिट भिसा प्रकरणको छानबिनको ठोस प्रक्रिया चालिने भनिए पनि स्पष्टरूपमा नआएकाले सो सहमतिमा रास्वपा सामेल नभएको उनको भनाइ छ। झाले नियमावलीको विपरीत कांग्रेसका सांसदलाई आकस्मिक समयमा एक वर्ष पुरानो मुद्दामा बोल्न दिएको भन्दै आपत्तिसमेत जनाए।