काठमाडौं - प्रमुख प्रतिपक्षी दलसँगको सहमतिसँगै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुक्रबारको संसद् अघि बढाएका छन्  । सभामुखले गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिएका छन् । उनले बोलिरहँदा रास्वपाका सा‌ंसदहरुले विरोध गरिरहेका छन् । उनले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

त्यसअघि घिमिरेले कार्यसूची अगाडि बढाउँदै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई मन्तव्य दिन अनुमति दिएका थिए। उनले बोल्न खोज्दा  विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले विरोध जनाउँदै टेबुल ठोक्ने, नारा लगाउनेजस्ता गतिविधि गरेर अवरोध गर्ने प्रयास गरे।

सभामुखले बैठक कार्यसूचीमा प्रवेश गराएको जानकारी दिँदै माओवादी सांसद पाण्डेलाई बोल्न समय दिएका थिए।  सभामुखले पटक–पटक आसन ग्रहण गर्न आग्रह गरे पनि उनीहरू आफ्नो अडानमा अडिग रहे।

त्यसबीच पाण्डेले संसद् सञ्चालन गरेर जनताको सवालमा छलफल हुनु आवश्यक रहेको धारणा व्यक्त गरे। तर उनको मन्तव्यका क्रममा समेत रास्वपा–राप्रपाका सांसदहरूले टेबुल ठोकेर विरोध जारी राखे।

सत्तारूढ गठबन्धनका घटक नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी माओवादी केन्द्र एक ठाउँमा उभिएर संसद् बैठक अघि बढाउने सहमतिमा पुगेका छन्। तर रास्वपा र राप्रपाले भने लगातार अवरोध गर्दै आएका छन्। शुक्रबारको बैठकमा माओवादी सांसदहरू बैठकमा सहभागी भएर आसनमा बसेका छन्, भने रास्वपा–राप्रपाका सांसदहरू उभिएर विरोध प्रदर्शन गरिरहेका थिए।