काठमाडौं - नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार देशको समग्र मूल्यवृद्धि (मुद्रास्फीति) दर घटेको छ। वैशाख मसान्तसम्म उपभोक्ता मूल्यवृद्धि दर २.७७ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको यही अवधिमा ४.४० प्रतिशत थियो।
खाद्य तथा पेय पदार्थ समूहमा मूल्यवृद्धि दर १.५२ प्रतिशतमा सीमित रहँदा, अघिल्लो वर्ष यसै अवधिमा यो दर ६.४१ प्रतिशत थियो। तर, गैर-खाद्य तथा सेवा समूहमा भने मूल्यवृद्धि ३.४५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ३.०९ प्रतिशतभन्दा केही बढी हो।
खाद्य समूहअन्तर्गत घ्यू तथा तेलमा सबैभन्दा बढी ११.०८ प्रतिशत मूल्यवृद्धि देखिएको छ। त्यसपछि फलफूलमा ६.१५ प्रतिशत, दाल तथा गेडागुडीमा ५.१७ प्रतिशत र गैर-मदिराजन्य पेय पदार्थमा ४.७० प्रतिशतले वृद्धि भएको छ। तर, तरकारीमा ८.११ प्रतिशत, मरमसलामा २.२० प्रतिशत र माछा–मासुमा ०.४८ प्रतिशतले मूल्य घटेको छ।
गैर-खाद्य वस्तु तथा सेवातर्फ विविध वस्तु तथा सेवामा ९.०४ प्रतिशत, शिक्षामा ५.८८ प्रतिशत, कपडा तथा जुत्ता–चप्पलमा ५.२३ प्रतिशत, फर्निचर तथा घरायसी सामग्रीमा ३.९९ प्रतिशत र रेस्टुरेन्ट तथा आवास सेवामा ३.१६ प्रतिशतले महँगी बढेको देखिएको छ।
समग्रमा, खाद्य वस्तुहरूको तुलनामा गैर-खाद्य समूहमा महँगीको दबाब अझै कायम देखिएको राष्ट्र बैंकको विश्लेषणले देखाउँछ।


0 comment