काठमाडौं - भिजिट भिसा प्रकरणमा उत्पन्न विवाद समाधान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच बुँदे प्रस्तावसहित छानबिन समिति गठनको पहल अघि सारेको छ। संसदमा गत केही दिनदेखि भइरहेको अवरोध फुकाउन रास्वपाले उक्त प्रस्ताव ल्याएको हो।

यस्ता छन् प्रस्तावित बुँदाहरू :

१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले गरिरहेको अनुसन्धानमा सरकारले पूर्ण सहयोग गर्ने।
२. विगतका मानव तस्करीका घटनामा व्यापक छानबिन गर्न पाँच दिनभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने।
३. समितिको कार्यक्षेत्र, संरचना र कार्यविधि तय गर्न कार्यसम्पादन समिति एक दिनभित्र गठन गरिने।
४. छानबिन समितिले नीति, प्रणालीगत कमजोरी, अवैध सञ्जाल, पीडितको संरक्षण, र गृहमन्त्रीको जिम्मेवारीबारे समेत निर्णय गर्ने।
५. छानबिन प्रक्रियामा पारदर्शिता कायम राखी प्रतिवेदन सार्वजनिक गरिने।

गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलहरूले संसद अवरुद्ध गर्दै आएका छन्। सभामुख देवराज घिमिरेको पहलमा सत्ता र विपक्षी दलबीच संवाद जारी रहे पनि सहमति कायम हुन सकेको छैन।