काठमाडौं - प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा लागु गरिएको ७० वर्षे उमेरहदको व्यवस्था अब फेल भइसकेको बताएका छन्।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ महाधिवेशनको उद्घाटन गर्दै ओलीले उमेर होइन, स्वास्थ्य र कार्यक्षमता हेर्नुपर्ने बताएका हुन्। ‘७० वर्षे उमेरहद फेल भइसक्यो,’ओलीले भने, ‘ म त ७४ मा छु। ४ वर्ष घटाएर कसरी रिटायर्ड हुने?’
उनले आवश्यकता परेमा नेतृत्व दोहोरिन सक्ने उल्लेख गर्दै चीनका सी चिनफिङको उदाहरण पनि दिए। ‘चीनमा ६५ वर्षे उमेरहद थियो, तर पार्टीले सीको नेतृत्व आवश्यक ठानेर परिवर्तन गर्यो,’ उनले भने, ‘अहिले उहाँ ७२ वर्ष पुग्नुभयो।’
२०७१ मा एमालेले कार्यकारी पदमा ७० वर्षे उमेर सीमा तय गरेको थियो। तर, २०८० जेठमा बसेको सचिवालय बैठकले उक्त व्यवस्था निलम्बन गर्दै ७० वर्ष पुगेकाले पनि नेतृत्वमा बस्न सक्ने निर्णय गर्यो। अघिल्ला महाधिवेशनहरूमा मोदनाथ प्रश्रित, भरतमोहन अधिकारी, सिद्धिलाल सिंह र सत्यनारायण मण्डलजस्ता नेताहरूले उमेरहदका कारण जिम्मेवारीबाट सरेका थिए।
२०७८ मा गोदावरीमा भएको विधान महाधिवेशनले ओलीलाई सहज हुने गरी उमेरहद कार्यकाल अवधिभर लागु नहुने व्यवस्था गरेको थियो। त्यसपछि ओली २०७८ मंसिरमा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए।


0 comment