काठमाडौं - प्रधानमन्त्री केपी ओलीले पैसा तिर्न नसकेकै कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाइ फर्कनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् ।
मोरङको कटहरी गाउँपालिका २ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ हुने विश्वास पनि व्यक्त गरे । ‘जीवन विकास सामुदायिक अस्पतालले पैसा नभएकै कारण उपचार नपाउने अवस्थाको हुन नदिने अठोट व्यक्त गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ । दुनियाँमा कमै मात्र यस्ता अस्पताल हुन्छन्,’ उनले भने, ‘दुई सय शय्याबाट तीन सय शय्यामा अस्पताललाई स्तरोन्नतिसहित मेडिकल कलेज सञ्चालन गर्ने जीवन विकास समाजको योजना पूरा हुन सकोस् । सरकार आवश्यक सहयोग गर्न तयार छ ।’
अस्पतालका अध्यक्ष एवं मोरङ ५ का संघीय सांसद योगेन्द्र मण्डलको नेतृत्वमा सिर्जनशील, सहकारिता र एकताबद्ध प्रयासको प्रशंसा गर्दै ओलीले उद्यमशीलता र रोजगारीवृद्धिका लागि जनप्रतिनिधिले भाषणभन्दा यसैगरी काम गर्नुपर्नेमा जोड दिए । उनले प्रतिफल राम्रो नहुने र तिर्न नसक्ने ऋण नलिई यस्तै अनुकरणीय काम गर्न अन्य जनप्रतिनिधि र पार्टीका नेताहरुलाई आग्रह गरे ।


0 comment