काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान् र शीलवान् नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठ्यक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताएका छन् ।
नेपाल आदर्श माध्यमिक विद्यालयको ७५औं जन्मजयन्ती (हीरक महोत्सव) का अवसरमा आयोजित कार्यक्रममा उनले सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा दिन आवश्यक रहेको उल्लेख गरे ।
‘राजनीतिक परिवर्तनपछि मुलुक संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अवलम्बन गर्दै तीव्र विकासको बाटोतर्फ उन्मुख छ,’ उनले भने, ‘सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई अघि बढाउन तदनुरुपको शिक्षा दिन आवश्यक छ भन्ने मलाई लाग्छ ।’
उनले विद्यालय तहदेखि नै हामीले हाम्रा बालबालिकालाई आधुनिक समयको मागअनुसारको पाठयक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्ने धारणा राखे । राष्ट्रपति पौडेलले गुणस्तरीय, प्राविधिक र प्रतिस्पर्धाको पक्षलाई ध्यान दिई भविष्यमा योग्य र क्षमतावान् व्यक्तिका रुपमा उभिन सक्ने गरी शिक्षा प्रदान गर्नेतर्फ सरकार र शिक्षाको क्षेत्रमा कार्यरत सबै पक्षले उत्तिकै ध्यान दिनु जरुरी रहेको बताए ।
उनले अध्ययनका लागि मुलुकबाहिर जाने प्रवृत्तिमा कमी ल्याउन र रोजगार बजारअनुसारको जनशक्ति विकास गर्न जोड दिनु आजको आवश्यकता रहेको बताए । ज्ञान, चेतना, जागरण र रुपान्तरणमा शिक्षाको भूमिका महत्त्वपूर्ण रहँदै आ उनको भनाइ छ । उनले सभ्य र सुसंस्कृत आधुनिक समाज निर्माणमा मात्र नभएर राष्ट्रको समग्र विकासको जग र आधार नै शिक्षा भएको स्पष्ट पारे ।
राष्ट्रपति पौडेलले जनता शिक्षित भए आफ्नो निरंकुश शासनको विरोध गर्लान् भनी जनतालाई शिक्षाबाट वञ्चित गर्न खोज्ने राणा शासनकालमा राजधानीको मुटुमा नेपाल आदर्श विद्यालयको स्थापना हुनु एउटा ऐतिहासिक घट्ना भएको बताए ।
उनले विद्यालयका संस्थापकको आदर्श, कर्तव्यपरायणता एवं मातृभूमिप्रति समर्पित कर्मठ विद्यार्थी तयार गर्ने सपनाअनुसारै विद्यालयको नाम ‘नेपाल आदर्श’ रहनु सघै स्मरणीय विषय भएको बताए । त्यस क्रममा राष्ट्रपति पौडेलले विद्यालयका पूर्वविद्यार्थी सर्वोच्च अदालतका न्यायधीश सपना मल्ल प्रधान, नेपाल बारका अध्यक्ष विजयप्रसाद मिश्रलगायत पूर्वविद्यार्थी एवं विद्यालयमा योगदान पुर्याउनेलाई सम्मान गरेका थिए ।


0 comment