काठमाडौं - नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजावादीको आन्दोलन प्रभावहीन भएको दाबी गरेका छन्। आज (बिहीबार) जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले भने, ‘कहाँ छ र राजावादी? तुहिसक्यो!’
दोस्रो चरणको आन्दोलन घोषणा गर्ने विषयमा राजावादी समूहबीच बेमेल भइरहेको बेलामा देउवाले यस्तो टिप्पणी गरेका हुन् । पहिलो चरणको आन्दोलनको समिक्षा र दोस्रो चरणको कार्यक्रम घोषण गर्ने भनिएको बुधबारको राजवादी समूहको बैठक विवादका कारण विथोलिएको थियो ।
उनले कांग्रेस-एमाले गठबन्धन सुदृढ रूपमा अघि बढिरहेको भन्दै आगामी आमनिर्वाचन सम्म पनि यो गठबन्धन कायम रहने विश्वास व्यक्त गरे।
प्रहरी समायोजनबारे पत्रकारको प्रश्नमा देउवाले छलफल र परामर्श जारी रहेको जानकारी पनि दिए। देउवा कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाका बुवा ठाकुरप्रसाद ढुंगानाको सालिक अनावरण गर्न धनुषा पुगेका छन्। शुक्रबार उनी जनकपुरमै निर्मित मिथिला विकास कोषको नयाँ भवन उद्घाटन गर्ने कार्यक्रम छ।


0 comment