काठमाडौं - राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलनमा उत्रिएका राजावादी नेताहरूलाई सरकारले अंगरक्षक (पीएसओ) नदिने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा गृहमन्त्री रमेश लेखकले आन्दोलन जारी रहेसम्म सुरक्षाकर्मी नखटाइने स्पष्ट पारे ।
राप्रपा नेता बुद्धिमान तामाङको प्रश्नमा मन्त्री लेखकले आन्दोलनका कारण अन्य स्थानमा सुरक्षाको आवश्यकता भएकाले अंगरक्षक फिर्ता गरिएको जानकारी दिए । उनले भने, ‘तपाईंहरूकै आन्दोलनका कारण सुरक्षा बढ्ता चाहिएको हो । ती सुरक्षाकर्मीहरूलाई तत्कालका लागि अन्यत्र खटाइएको हो । आन्दोलन रोकिएपछि अंगरक्षक पुनः दिइनेछ ।’
केही दिनअघि राप्रपाका नेताहरू ध्रुवबहादुर प्रधान, दीपक सिंह र ज्ञानबहादुर शाहीका अंगरक्षक फिर्ता गरिएका थिए । त्यतिबेला प्रहरी अधिकारीहरूले उनीहरूलाई आन्दोलनबारे ब्रिफिङका लागि मात्र बोलाइएको बताएका थिए, तर त्यसयता अंगरक्षक पुनः खटाइएको छैन । मन्त्री लेखकले गणतन्त्र, संघीयता र लोकतन्त्रबाट पछि फर्किन नसकिने भन्दै संविधान फाल्ने प्रयास नगर्न सबैलाई आग्रह पनि गरे ।


0 comment