काठमाडौं - प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच  सिंहदरबारमा छलफल हुँदैछ। 

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अपरान्ह ४ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता तय भएको हो।

भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल माओवादीलगायत विपक्षी दलहरुले संसद अवरुद्ध गरिरहेको सन्दर्भमा संसद सञ्चालनको मार्ग खोज्न नेताहरू छलफलमा जुटेका हुन्।

छलफलमा संसदको अवरोध हटाउने उपाय, संवैधानिक अंगहरूमा नियुक्ति प्रक्रिया अघि बढाउने विषय र पछिल्लो समय तीव्र बनेको राजावादी आन्दोलनबारे समेत छलफल हुने बताइएको छ।

केही दिनअघि पनि यी तीन नेताहरूबीच अनौपचारिक भेटघाट भएको थियो। त्यस अवसरमा समेत संसद सञ्चालन, सत्ता साझेदारी र राष्ट्रिय राजनीतिका समसामयिक विषयमा प्रारम्भिक विचारविमर्श भएको थियो। तर ठोस निष्कर्ष ननिस्किएका कारण छलफललाई निरन्तरता दिइँदै आएको हो। आजको छलफलले संसद अवरोध अन्त्य गर्न दिशानिर्देश दिने अपेक्षा गरिएको छ। प्रतिनिधिसभाको बैठक भोलि बस्ने तय भएको छ ।