काठमाडौं - प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरेका छन्।

काठमाडौंमा शनिबार  आयोजित नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ होइन, राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपालको लक्ष्यमा अघि बढे एमालेले फेरि बहुमत ल्याउने बताए। उनले देश अहिले पनि संक्रमणकालीन अवस्थामा रहेको बताउँदै बुद्धिजीवी वर्गले सही दिशामा भूमिका खेल्नुपर्ने उल्लेख गरे।

‘हामीले विचार, विकास र राष्ट्रियताको बाटो नछाड्ने हो भने हामीलाई रोक्ने ताकत कसैसँग छैन,’ ओलीले भने, ‘स्वार्थी मोर्चाबन्दीले पार्टी फुटाउने प्रयास गर्यो, तर आज पनि एमाले नै मुलुकको सबभन्दा लोकप्रिय पार्टी हो।

उनले विगतमा पार्टीमाथि घेराबन्दी भएको, दुईतिहाइ बहुमतको पार्टीलाई विभाजन गराइएको, आफूलाई पनि सामान्य सदस्यबाट हटाउने प्रयास भएको स्मरण गरे। तर ती सबै प्रयास विफल भएको भन्दै एमाले अझ सशक्त बनेको उनको भनाइ थियो।

उनले भने, ‘अहिले कोही पनि एमालेलाई भित्तामा टाँस्ने स्थितिमा छैनन्।’ ओलीले राष्ट्रिय एकता, स्थायित्व र समृद्धिका लागि एमालेलाई वैकल्पिक होइन, अनिवार्य शक्तिका रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित सबैलाई सक्रिय रूपमा लाग्न आग्रह गरे।