काठमाडौं - प्रधानमन्त्री केपी ओलीले आफ्ना लागि आफैंले नेता छनोट गर्न पाउने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नरेको बताएका छन् ।
गणतन्त्र दिवसका २०८२ को उपलक्ष्यमा टुडिँखेलमा आयोजित विशेष समारोहमा उनले हरेक नागरिकको आत्मससम्मान सुरक्षित रहने गणतन्त्रान्त्रिक व्यवस्थाको विकल्प अरु हुन नसक्ने बताए ।
गणतान्त्रिक शासन व्यवस्थामा शिक्षा, स्वास्थ्य, उद्यम, रोजगारी पूर्वाधारलगायत क्षेत्रमा अतुलनीय उपलब्धिसहित परिवर्तन भएको उल्लेख गर्दै उनले गणतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन हामी सबै एक हुनुपर्नेमा जोड दिए । ‘सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड हो । हामी त्यसलाई बलियो बनाउन लागेका छौं । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न लागिपरेका छौं,’ उनले भने, ‘गणतन्त्र कुनै दलको स्वामित्व होइन यसको मालिक जनता हुन् । लोकतान्त्रिक गणतन्त्र जनताका लागि जनताद्वारा जनताको शासन प्रणाली हो । यसको मर्मअनुसार हाम्रो प्रणालीमा जनताले नै वडासदस्यदेखि राष्ट्रपतिसम्म आफैँले छान्न र फेर्न सक्छन् । त्यसैले राम्रो वा नराम्रोको उत्तरदायित्व पनि जनताकै हातमा छ ।’
प्रधानमन्त्री ओलीले अहिले जनता स्वयंले मतदान गरेर, वडाका सदस्यदेखि देशको राष्ट्रपतिसम्म समावेशी रुपमा विभिन्न जात/जाति र समुदायका कम्तिमा ३६ हजार ५७ प्रतिनिधि चुनिने व्यवस्था रहेको स्पष्ट गरे ।
‘गणतन्त्र आउनुअघि देशको विकासका सूचकांकहरु कहाँ थिए, आज कहाँ पुग्यो । गणतन्त्र आउनुअघि मानव विकास सूचकाङ्क कहाँ थियो, आज कहाँ पुग्यो । राजतन्त्र हुँदाका अढाइसय वर्षमा कति विद्यालय थिए, कति अस्पताल थिए, अहिले कति पुगे । राजतन्त्रकालमा सडक कति किलोमिटर थियो, अहिले कति पुग्यो, गरिवी कति थियो, कति घट्यो, खानेपानी र बिजुलीको सुविधा कति जनतामा थियो र आज कतिमा पुग्यो । जनताको जीवनस्तर कहाँ थियो, अहिले कहाँ पुग्यो । यी सबै उपलब्धि लोकतान्त्रिक गणतन्त्रबाट सम्भव भएको हो,’ उनले भने ।
उनले हिजोको असमानता र पछौटेपनबाट निकै अघि बढिसकेको धारणा राखे । लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत, अनुशासित र सुदृढ बनाएर मुलुकलाई प्रगतिको बाटोमा लैजान सकिने ओलीको भनाइ छ ।
‘आजको दिनले हामीलाई विगतको संघर्ष, जनआन्दोलनसँगै तय गरेको गन्तव्य, सँगै हिँडेको यात्रा र हासिल गरेका साझा उपलब्धिलाई सम्झाउँछ । हिजोको गरिबी, हिजोको असमानता, हिजोको अविकास र हिजोको पछौटेपनबाट हामी निकै अगाडि बढिसकेका छौं,’ गणतन्त्र दिवस २०८२ को अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा ओलीले भने,‘देशमा निरंकुश राजतन्त्र र गणतन्त्रकालका विकास सूचकांकहरुको तुलनात्मक अध्ययन गर्न म हाम्रो नवोदित युवा समाजलाई आग्रह गर्दछु । लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत, अनुशासित र अझ सुदृढ बनाएर हामी मुलुकलाई प्रगतिको बाटोमा लैजान सक्छौं ।’
उनले निरंकुशतन्त्र र गणतन्त्र- कुन उत्तम हो भन्ने हाम्रो समाजको बहसको विषय नभएको जिकिरसमेत गरेका छन् । उनले आचरण र व्यवहारमा अझै सुधार गर्नु पर्ने धेरै कुरा हुन सक्ने औंल्याए । ‘निरंकुशतन्त्र र गणतन्त्र- कुन उत्तम हो भन्ने हाम्रो समाजको बहसको विषय होइन । राज्यका अङ्ग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका हामी सबैको आचरण र व्यवहारमा अझै सुधार गर्नु पर्ने धेरै कुरा हुन सक्छन्,’ उनले भने ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले गरिबी, बेरोजगारी, भ्रष्टाचार- राष्ट्रका यी चुनौती हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर होइन, लोकतान्त्रिक प्रणालीमा चुनाव मार्फत इमान्दार राजनीतिक शक्ति छनौट गरेर मात्र सामना गर्न सकिने धारणा राखे । उनले भने, ‘इतिहास साक्षी छ- त्यो मुकुटको आडमा जनतामाथि शासन गरिएको थियो, सेवा होइन । राज्य यन्त्रलाई शासनबाट सेवातर्फ प्रवेश गराउने काम गणतन्त्र आएपछि सुरु भएको हो, त्यो अझै सम्पन्न भएको छैन ।’


0 comment