काठमाडौं - गृहमन्त्री रमेश लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीमाथि छानबिन गर्दा मन्त्रीहरूले राजीनामा दिनुपर्ने परम्परा नभएको बताएका छन्। आज (बुधार) राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखकले पछिल्ला तीन आर्थिक वर्षको अख्तियारमा दर्ता भएका उजुरीहरूको तथ्यांक सार्वजनिक गर्दै यस्तो धारणा राखेका हुन्।
उनका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा अख्तियारमा ६४ हजार ६१ वटा उजुरी दर्ता भएका छन्। ती उजुरीहरू अधिकांश कुनै न कुनै मन्त्रालय, विभाग वा सार्वजनिक कार्यालयका राष्ट्रसेवक कर्मचारी वा पदाधिकारीमाथि परेका हुन्।
‘यस्ता उजुरी र छानबिनका आधारमा अहिलेसम्म कति मन्त्रीहरूले राजीनामा दिएका छन्, तपाईंहरू आफैंले विवेचना गर्नुहोस्,’ गृहमन्त्री लेखकले पत्रकारहरूलाई प्रश्न गरे।
उनले आफू नेतृत्वमा रहेको गृह मन्त्रालयमा अख्तियारको छानबिन भए पनि अहिलेसम्म कुनै गृहमन्त्रीले त्यसको जिम्मेवारीका रूपमा राजीनामा नदिएको उल्लेख गरे। साथै, उनले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठेपछि तत्कालै राजीनामा मागिनु अनुचित भएको संकेत पनि गरे।
‘तत्कालीन गृहमन्त्री रवि लामिछानेको विषय उठेको थियो। त्यतिबेला मुख्यसचिवमाथि प्रश्न उठ्दा प्रधानमन्त्रीले नियुक्ति गर्नुभएको भन्दै राजीनामा मागिएन। म प्रधानमन्त्रीलाई राजीनामा दिनुपर्छ भन्छु त?’ उनले भने।
टेरामक्स प्रकरण र तीर्थ भट्टराईको अनुसन्धान
पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले चर्चित टेरामक्स घोटालामा मुछिएका तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालको पनि उल्लेख गरे। उनले प्रधानमन्त्रीले नै नियुक्त गरेको मुख्यसचिव दोषी देखिँदा समेत प्रधानमन्त्रीमाथि राजीनामा मागिएको थिएन भन्ने तर्क प्रस्तुत गर्दै, त्यस्तो अवस्थामा आफूप्रति गरिएको आक्षेप अनुचित भएको जनाए।
अध्यागमन विभागका प्रमुख तीर्थ भट्टराईमाथि भइरहेको अनुसन्धानबारे पनि गृहमन्त्री लेखकले स्पष्ट पारे। उनले तीर्थराज भट्टराईलाई आफूले ल्याएको नभइ अघिल्ला कार्यकालमै उनलाई जिम्मेवारी दिइएको बताए।
‘तीर्थराजजीलाई मैले सरुवा गरेर ल्याएको होइन। मभन्दा पहिले नै महत्वपूर्ण जिम्मेवारी दिइएको हो। अहिले प्रहरी र अख्तियारले अनुसन्धान गरिरहेका छन्,’ लेखकले प्रष्ट पारे।
पूर्वाग्रह र न्यायको सवाल
गृहमन्त्री लेखकले सञ्चारमाध्यमहरू आफूप्रति पूर्वाग्रही रहेको आरोप समेत लगाए। उनले भने, ‘मैले कसैप्रति आग्रह वा पूर्वाग्रह राखेको छैन। तर न्याय त मलाई पनि पाउनुपर्ने हो कि? मेरो विरुद्ध कतै उजुरी छ?’ उनले विगतमा सञ्चारमाध्यमबाट आएका केही समाचारका आधारमा सम्बन्धित व्यक्तिमाथि मुद्दा दर्ता भइसकेको पनि जानकारी दिए।
गृहमन्त्री लेखकको धारणा अनुसार, कर्मचारीमाथि अनुसन्धान हुँदैमा त्यसको सम्पूर्ण जिम्मेवारी मन्त्रीमाथि थोपरिने परिपाटी गलत हो। यस्तो प्रवृत्तिले राजनीतिक नेतृत्वलाई अनावश्यक रूपमा प्रभावित पार्ने भन्दै उनले चेतावनीसमेत दिए।


0 comment