काठमाडौं - गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिन समय माग गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलपछि उनले संसदमा आफ्ना धारणा राख्न चाहेको जानकारी दिए। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरू सहभागी थिए।

लेखकका अनुसार बैठकमा संसद् खुलाउनेबारे पनि छलफल भएको छ। सोही बैठकबाट प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरी संसद् खोल्ने विषयमा कुराकानी गरेका थिए।

‘संसद्मा बोल्न मैले समय माग गरेको छु,’ गृहमन्त्री लेखकले भने, ‘संसद् अगाडि बढ्ने कि नबढ्ने भन्ने कुरा अहिले प्रतिपक्षको निर्णयमा निर्भर छ।’

माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी लगायत प्रतिपक्षी दलहरूको बैठक संसद् भवनमै जारी छ।