काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीले १५ जेठको राप्रपा कार्यक्रम भड्काउन षड्यन्त्र गरेको आरोप लगाएका छन्।
काठमाडौंमा मंगलबार आयोजित सम्पादकहरूसँगको छलफलमा लिङ्देनले प्रधानमन्त्रीले आन्दोलन प्रभावित पार्न रणनीति बनाएको दाबी गरे। ‘प्रधानमन्त्री हाम्रो १५ जेठको कार्यक्रमलाई लक्षित गर्दै भिडन्तको वातावरण सिर्जना गर्न खोज्दैछन्,’ उनले भने, ‘गलत अभिव्यक्तिसँगै या त प्रधानमन्त्रीले क्षमा माग्नुपर्छ, या राजीनामा दिनुपर्छ।’
उनले संविधानप्रदत्त स्वतन्त्रता कुण्ठित गर्न सरकार लागिपरेको भन्दै आपत्ति जनाए। ‘हामीले रत्नपार्कबाट कार्यक्रम गर्ने भन्यौं, तर प्रधानमन्त्रीको दलले त्यहीँ नजिक कार्यकर्ता उतार्ने तयारी गरिरहेको छ,’ उनले पत्रकारहरूसँग आग्रह गर्दै भने, ‘निष्पक्ष रूपमा सत्य समाचार सम्प्रेषण गर्नुहोस्।’
१५ जेठमा राप्रपाले देशव्यापी आन्दोलनको घोषणा गरिसकेको छ। सोही दिन प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले राजधानी काठमाडौं एमालेको पकडमा हुनुपर्ने भन्दै कार्यकर्तालाई तयारी गर्न निर्देशन दिएका थिए। दुवै दलले एकैदिन गर्न लागेको जनप्रदर्शनले झडपको स्थिति सिर्जना गर्न सक्ने भन्दै राजनीतिक वृत्तमा चिन्ता व्यक्त गरिएको छ ।


0 comment