काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज गोरखा जिल्लाको सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन र घैरुङ स्वास्थ्य चौकीको नवनिर्मित भवनको समुद्घाटन गरे।
उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको विकासमा आफू प्रधानमन्त्री हुँदा र अहिले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समेत निरन्तर ध्यान दिएको बताए।
उनले भने, ‘संघीयता कार्यान्वयन र स्थानीय तहलाई प्रभावकारी बनाउन म प्रधानमन्त्री हुँदा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयका लागि पटक–पटक बैठक आयोजना गरेर संघीयताको कार्यान्वयनका लागि पहल गरेको थिएँ। त्यसका लागि धेरै काम अगाडि पनि बढाइएको थियो। तर केपी शर्मा ओली प्रधानमन्त्री भएपछि त्यो काम रोकिएको छ।’
संविधानमा उल्लेखित कतिपय अधिकार अझै कार्यान्वयनमा नआएकोप्रति उनले चिन्ता व्यक्त गरे। ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने अवधारणा आफूले नै ल्याएको उल्लेख गर्दै त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो। बुढीगण्डकी जलविद्युत आयोजना अगाडि बढाउन गरिएको मेहनत हाल रोकिएको भन्दै उनले त्यसमा पुनः गति दिन जरुरी रहेको धारणा व्यक्त गरे।
अध्यक्ष दाहालले भने, ‘अहिले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादीहरू एक हुन आवश्यक छ। शुसासन र समृद्धिका लागि पनि अब लड्नुपर्ने अवस्था आएको छ।’
युवाहरू विदेशीने र समाजमा निराशा बढ्दै गएको सन्दर्भमा उनले त्यसलाई चिर्न स्वदेशभित्रै रहेका स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गरी देशमै केही गर्न सकिन्छ भन्ने भावना जगाउन आवश्यक रहेको बताए ।
‘नेपाल संसारमै सम्भावनायुक्त देश हो। युवाहरूले निराशा होइन,’दाहाले भने, ‘आशाको भावना बोकेर अघि बढ्नुपर्छ।’
गोरखामा आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, पार्टीका कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।


0 comment