काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।

रास्वपाका सांसद शिशिर खनालले भिजिट भिसाको आडमा संगठित मानव तस्करी र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराधहरू भएको दाबी गर्दै यस विषयमा गम्भीर अनुसन्धान आवश्यक रहेको बताए ।

उनले उक्त प्रकरणमा गृहमन्त्री रमेश लेखक र उनको सचिवालय मुछिएको भन्दै अनुसन्धान निष्पक्ष र प्रभावकारी बनाउन उच्चस्तरीय आयोग आवश्यक भएको तर्क गरे ।

खनालले गृहमन्त्री लेखकको तत्काल राजीनामा समेत माग गरेका छन् । ‘गृहमन्त्री स्वयं मुछिएको अवस्थामा उहाँको पदमा रहँदा निष्पक्ष छानबिन सम्भव छैन,’उनले भने, ‘त्यसैले उनले राजीनामा दिनुपर्छ ।’

रास्वपाले यसअघि पनि विभिन्न समयमा भिजिट भिसा दुरुपयोग गरेर मानव तस्करी हुने गरेको भन्दै आवाज उठाउँदै आएको थियो । पार्टीले अहिलेको प्रकरणलाई राज्य संरचनाको दुरुपयोग र आपराधिक सञ्जालसँग जोडिएको भन्दै यथाशीघ्र छानबिन थाल्न सरकारलाई आग्रह गरेको छ ।