काठमाडौं - नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्र बजगाईंले आफ्नै पार्टीका पूर्वमहामन्त्री एवं नेता डा. शशांक कोइरालामाथि सुनको घडी, ३ वटा गाडीलगायत सामान घुसबापत लिएको गम्भीर आरोप लगाएका छन् ।

शशांकले तीनवटा गाडी, सुनको रोलेक्स घडी र नगदसहित दुईवटा झोला घुसस्वरूप लिएको आरोप लगाएका हुन् । सामाजिक सञ्जालमा बजगाईंले सार्वजनिक गरेको तस्बिरमा उनी स्वयं पनि देखिएका छन् ।

‘म चाहँदैनथेँ कि मलाई किया र दुईवटा महिन्द्राजस्ता एसयूभी उपहारहरू, रोलेक्स घडी, नगदले भरिएका डफेल झोलाहरू, तथाकथित घरको जीर्णोद्धार वा राजनीतिक पदहरूको सौदाबाजीबारे प्रश्न उठाउनुपरोस् । तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्नेछ,’ बजगाईंले सामाजिक सञ्जालमा दुईवटा तस्बिरसहित लेखेका छन् ।

गृहमन्त्री रमेश लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग विवादमा मुछिएपछि बजगाईंसहित केही नेताले छानबिनको माग गरेका थिए । तर, त्यस विषयमा पार्टी पदाधिकारी बैठकमा बजगाईंलगायत राजीनामा माग गरेका डा. शेखर कोइराला र डा. सुनील शर्मालाई स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव शशांक कोइरालाले राखेका थिए ।

हिजो (सोमबार) मात्र कोइरालाको उक्त प्रस्ताव सार्वजनिक भएपछि असन्तुष्ट बनेका बजगाईंले शशांकमाथि घुस लिएको भन्दै गम्भीर आरोप लगाएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री मुछिएको घटनासँगै कांग्रेसभित्र आन्तरिक विवाद चर्किएको छ ।