काठमाडौं - प्रधानमन्त्री एवं  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका छन्।  बागमती प्रदेशस्तरीय वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको आइतबार उद्घाटन गर्दै ओलीले दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताए।

त्यसदिन काठमाडौंमा राजावादीले गर्ने भनिएको आन्दोलन रोक्न पार्टी कार्यकर्तालाई सक्रिय रूपमा तयारीमा रहन निर्देशन दिएका हुन्। ‘निर्देशन पछि आउँछ, तपाईंहरू तयारी हालतमा बस्नुस्,’ओलीले भने, ‘१५ गते के गर्ने भन्ने पार्टीले बताउँछ। तर त्यो दिन हाम्रो शक्ति देखिनुपर्छ।’

राजावादीहरू कुनै महान उद्देश्यका लागि नभई साना स्वार्थका लागि आन्दोलनमा उत्रिएको उनको आरोप थियो। ओलीले आन्दोलनमा प्रोटोकल लागू नहुने भन्दै सबै कार्यकर्तालाई एकताबद्ध भएर उत्रिन आह्वान गरे। राजसंस्थाको समर्थन गर्दै नारायणहिटीमा नारा लगाउनेहरूलाई लक्षित गर्दै ओलीले भने, ‘प्राणभन्दा प्यारो राजा भनेका थिए, तर वीरेन्द्र मारिँदा कहाँ गएका थिए?’