काठमाडौं - उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले पछिल्लो समय ‘के भयो र?’, ‘प्रजातन्त्रले के दियो र?’ भन्ने शैली फेसनजस्तै बनेको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनमा बोल्दै उनले यस्तो प्रवृत्तिले प्रजातन्त्रप्रति गलत सन्देश जाने खतरा रहेको बताए।
‘अहिले एउटा फेसन जस्तो भएको छ – के भयो र? के दियो र? भन्ने। तर, त्यो बोल्न पाइने स्वतन्त्रता पनि प्रजातन्त्रकै उपलब्धि हो,” उनले भने, “संघर्ष र बलिदानबाट प्राप्त अधिकारलाई सुरक्षित राख्ने जिम्मेवारी अब हाम्रो काँधमा छ।’
उपप्रधानमन्त्री सिंहले पछिल्लो समय सकारात्मक उपलब्धिलाई बेवास्ता गर्दै नकारात्मक पक्ष मात्र उजागर गर्ने प्रवृत्ति बढेकोमा असन्तुष्टि जनाए।
उनले भने, ‘अहिलेको समय नेगेटिभ कुरा हाइलाइट गर्ने, उपलब्धिलाई केही होइन भन्ने प्रवृत्ति बढेको छ। प्राप्त भएको अधिकार केही होइन भने नयाँ के खोज्ने? यो पनि सोच्नुपर्ने विषय हो।’
सिंहले लोकतन्त्रले दिएको अभिव्यक्ति स्वतन्त्रता, मतदान अधिकारलगायतका उपलब्धिलाई संस्थागत गर्दै अझ सुदृढ बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गरे।


0 comment