काठमाडौं - गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा मन्त्रालयले आजै विज्ञप्ति निकाल्ने र केही दिनमै आफू पनि बोल्ने बताएका छन्।

शनिबार कांग्रेस धनुषा कार्यालयमा कार्यकर्तासँगको छलफलमा उनले सामाजिक सञ्जालमा आफूलाई जोडेर आएका विषयबारे अध्ययन गरिरहेको र धेरै कुरा थाहा भइसकेको बताए। ‘आजै काठमाडौँ फर्किएपछि मन्त्रालयले विज्ञप्ति निकाल्छ, दुई-चार दिनमा म पनि बोल्छु,’ उनले भने।

गृहमन्त्री लेखकले आफूले पार्टीको टाउको निहुरिने काम कहिल्यै नगरेको भन्दै चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरे। उनले पार्टीको प्रतिष्ठा क्षति पुग्ने कुनै काम नगरेको दाबी गर्दै गलत काम गर्ने दिनदेखि राजनीतिमा देखिन नरहने बताए।

भिजिट भिसा मार्फत विदेश जान खोज्ने युवासँग रकम असुली भएको प्रकरणमा अख्तियारले अध्यागमन विभागका प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित १४ कर्मचारीलाई अनुसन्धानमा राखेको छ। मन्त्रालयले ती कर्मचारीलाई शुक्रबार जिम्मेवारीबाट हटाएको छ।