काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध धर्मले आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसाको अमूल्य शिक्षा प्रदान गर्दै आएकाले यसलाई हामी सबैले व्यवहारमा उतार्न सक्नुपर्ने बताएका छन् ।

देशभित्रका विभिन्न गुम्बाबाट सहभागी भई ४७औं लामा देशदर्शन भ्रमण सम्पन्न गरी फर्किएका लामा-आनी सहभागी कार्यक्रमलाई शुक्रबार शीतलनिवासमा सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन् ।

‘मूर्त र अर्मूत बौद्ध सम्पदाको जगेर्ना गर्दै बौद्ध दर्शनको जीवनोपयोगी पक्षलाई व्यवहारमा उतार्न सके मुलुकको हितार्थ उपयोगी मार्ग प्रशस्त हुँदै जानेछ,’ उनले भने । त्यसका लागि बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले आगामी दिनमा अझै प्रभावकारी भूमिका निर्वाह गर्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे । यस किसिमको भ्रमणले बौद्ध धर्म, दर्शनको संरक्षण विकास र प्रर्वद्धनमा टेवा पुर्‍याउँदै धार्मिक पर्यटन अभिवृद्धि गर्न सकारात्मक भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

‘बौद्ध तीर्थस्थलहरूको भ्रमण कार्यक्रमले मुलुकमा दिगो शान्ति र विकासका लागि टेवा मिल्नेछ भन्ने कुरामा विश्वस्त छु,’ उनले भने । राष्ट्रपति पौडेलले समितिले नेपाली समाजमा बौद्ध शिक्षा, साधना र सांस्कृतिक जागरणका क्षेत्रमा पुर्‍याउँदै आएको योगदान सराहनीय रहेको धारणा पनि राखे ।