काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले नेपालमा गणतन्त्र बुलेट (गोली) नभई ब्यालेट (मतपत्र) बाट आएको स्पष्ट पारेका छन्।

सिंहदरबारमा बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गणतन्त्र बोलिले आएको बताएका हुन्।

‘गणतन्त्र गोली होइन, बोलीबाट आएको हो। बुलेट होइन, ब्यालेटबाट आएको हो,’ मन्त्री गुरुङले भने, ‘माओवादीले बुलेटबाट ल्याउँछौँ भनेका थिए, त्यो दिन आएन भनेर जिस्क्याउने गर्छु।’

उनले अहिले सत्तापक्ष र प्रतिपक्ष दुवै गणतन्त्र पक्षधर रहेको बताउँदै गणतन्त्रको आलोचना गर्न पाइने तर राजतन्त्र र विखण्डनको पक्षमा लाग्नु संविधान विरोधी हुने बताए।