काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई जनताको सुझाव, आलोचना र अपेक्षाअनुसार अघि बढाउन अभियान सञ्चालन गरिएको बताएका छन् ।

जाजरकोट सदरमुकाममा आज आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा अध्यक्ष दाहालले जनतासँग प्रत्यक्ष रूपमा जोडिन र विकास निर्माणका परियोजनाको अनुगमन गर्न ‘जनसंवाद अभियान’ सुरु गरिएको जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान अन्तर्गत अध्यक्ष दाहाल नेतृत्वको टोलीले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, पत्रकार र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति थियो ।

कार्यक्रममा सहभागीहरूले जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी लोकमार्ग र लुम्बिनी–रारा सडकजस्ता परियोजना अघि बढिरहेका भए पनि नलगाड जलविद्युत् आयोजना अलपत्र परेको भन्दै त्यसलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

अध्यक्ष दाहालले जनताका गुनासा, सल्लाह र सुझावलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताए । साथै, जाजरकोट भूकम्पबाट प्रभावित नागरिकलाई राहत र पुनर्निर्माणमा सरकारले अझ प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिए ।

संघीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन हुन नसकेको भन्दै उनले यसको कार्यान्वयन प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षणसमेत गराए । अध्यक्ष दाहालले पार्टीले विकास निर्माण र जनसंवादलाई सँगै अघि बढाउने स्पष्ट सन्देशसमेत दिएका थिए ।