काठमाडौं - कांग्रेसका शीर्ष नेताहरूले सात बुँदे सहमति कार्यान्वयनमा सरकारले अपेक्षित ढंगले काम नगरेको निष्कर्ष निकालेका छन्।
पूर्वउपसभापति गोपालमान श्रेष्ठको निवासमा आइतबार बसेको बैठकमा सहभागी नेताहरूले गत असार १७ गते कांग्रेस र माओवादी केन्द्रबीच भएको सात बुँदे सहमतिअनुसार सरकार नचलेको निष्कर्ष निकाल्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
‘दुई ठूला दल मिल्दा पनि जनतामा निराशा झनै बढेको छ,’ एक नेताले भने, ‘सरकारको काम प्रभावकारी बन्न सकेको छैन। अब सुधार आवश्यक छ।’
सरकारको नेतृत्वमा रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंह स्वयं सहभागी भेलामा यस्तो असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त भएको हो। बैठकमा पार्टीको १५औँ महाधिवेशनलाई निर्धारित समयमा सम्पन्न गर्ने तयारीबारे पनि छलफल भएको छ।
नेताहरूले देउवासँग सामूहिक भेट गरी महाधिवेशनबारे औपचारिक कुराकानी गर्ने तयारीसमेत गरेका छन्। साथै, देउवाको उत्तराधिकारी चयनका विषयमा समेत नेताहरूबीच निरन्तर संवाद भइरहेको स्रोतले जनाएको छ।
बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्ण सिटौला, प्रकाशमान सिंह, शंशाक कोइराला र पूर्वसहमहामन्त्री प्रकाशशरण महत सहभागी थिए।


0 comment