काठमाडौं - अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सञ्चालित मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियान कर्णाली प्रदेशमा प्रवेश गरेको छ । प्रवेशसँगै पहिलो कार्यक्रमका रूपमा सुर्खेतको राकम कर्णालीमा जनसंवाद गरेको छ ।

सुदूरपश्चिमको बैतडी पाटनबाट सुरु गरिएको अभियान अछाम हुँदै दैलेखको कर्णाली पुल पार गरी राकम कर्णालीमा प्रवेश गरेको हो ।

अभियानअन्तर्गत आज (आइतबार) दैलेख सदरमुकाममा जनसभा आयोजना गरिएको छ । राकममा सम्पन्न जनसंवादमा दाहालले जनतासँगको सम्बन्ध सुदृढ गर्न, सुशासन प्रवर्द्धन गर्न र भ्रष्टाचारविरुद्ध आवश्यकता परे नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान गरिएको बताए ।

‘मध्यपहाडी क्षेत्रमा विकासबाट पछाडि परेका जनतालाई समेटेर समृद्धिको बाटो खोल्ने उद्देश्यले माओवादी केन्द्रले यो अभियान अघि सारेको हो,’ उनले भने, ‘मध्यपहाडी लोकमार्ग केवल सडक सञ्जाल होइन, यो अभियान सामाजिक रूपान्तरणको अभियानसँग जोडिएको छ ।’

सरकारमा हुँदा माओवादी केन्द्रले सामाजिक न्याय र सुशासनका लागि भ्रष्टाचारविरुद्ध दृढताका साथ संघर्ष गरेको र अहिलेको अभियान त्यसै राजनीतिक संघर्षको निरन्तरता भएको उनको दाबी छ ।

यो अभियान जनताको प्रत्यक्ष सहभागिता र भावनालाई आधार मानेर अघि बढाइएको उनले बताए । ‘गरिब, किसान, मजदुर, उत्पीडित समुदाय, सहिद परिवार, बेपत्ता व्यक्तिका आफन्त, जनयुद्धका घाइते तथा अपांग नागरिकसँग भेटघाट गर्दै अभियान अगाडि बढाइएको छ’ उनले भने ।

दाहालले कृषकहरूको मल र बिउको समस्या कसरी समाधान गर्ने, स्थानीय तहबाट समाजवाद निर्माणको पहल कसरी लिने र स्थानीय अर्थतन्त्र कसरी मजबुत बनाउने भन्ने विषयमा माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय सरकारहरूलाई नीतिगत रूपमा काम गर्न निर्देशन दिइसकेको जानकारी पनि दिए ।

स्थानीयतालाई संरक्षण र प्रवर्धन गर्दै जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र पनि उनले दाबी गरे । माओवादी अध्यक्ष दाहालले आफूहरुको यो अभियानमा सबैले साथ दिनका लागि सार्वजनिक अपिलसमेत गरे ।