काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारका कमजोरी सुधार्दै अगाडि बढ्ने बताएका छन्।

काठमाडौंमा शनिबार प्रजातान्त्रिक विचार समाजद्वारा आयोजित कार्यक्रममा देउवाले कांग्रेस ठुलो पार्टी भए पनि बहुमत नपुगेकाले गठबन्धनमा सरकार बनाउनु बाध्यता भएको बताए।

‘समावेशी र समानुपातिक प्रणालीका कारण कसैको पनि स्पष्ट बहुमत आउन कठिन छ,’ देउवाले भने, ‘सरकारमा केही कमजोरी छन्, तर सुधार गर्दै विकासलाई अघि बढाउँछौं।’ उनले समावेशी संविधानका कारण सबै समुदायको प्रतिनिधित्व संसदमा भएको उल्लेख गरे।

देउवाले २०४८ सालमा कांग्रेस नेतृत्वको सरकारले देशमा विकासको थालनी गरेको दाबी गर्दै २०५२ सालमा आफ्नो कार्यकालमा सांसदका लागि सहमतिमा ल्याइएको सवारी भन्सार छुट योजनालाई केहीले ‘पजेरो काण्ड’ भन्दै आलोचना गरेको स्मरण गरे। उनले एमाले अध्यक्ष ओलीसँग पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै भने, 'हामी जेलमा सँगै थियौं।’