काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले संविधानले दिएको मौलिक हक र निर्देशक सिद्धान्तको उल्लंघन गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै उनले आस्थाका आधारमा पचासौं मानिसलाई थुनामा राखेर सरकारले संविधानको मौलिक हक र निर्देशक सिद्धान्तको उल्लंघन गरेको आरोप लगाएका हुन् ।

उनले विचार अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता संविधानले दिए पनि व्यवहारिक रुपमा सरकारविरोधी विचारलाई निषेध नै गर्ने योजना बनाएर अघि बढिरहेको दाबी गरे ।

अध्यक्ष लिङ्देनले उद्योगी व्यवसायीलाई साँच्चिकै व्यावसायिक बनाउन ऐन कानुनमा सुधार गरेर मात्र नभई व्यवहारमा पनि सुधार गर्नुपर्ने बताए ।