पहिले पहिले आफनो देशको भौगोलिक क्षेत्र तन्काउने, राष्ट्र राष्ट्रलाई एकिकरण गरी विशाल साम्राज्य त्रनाउने सपनालाई साकार पार्न युद्धहरु हुने गर्थ्यो । पछि आएर औपनिवेषिक क्षेत्र तन्काउनको लागि महाशक्तिहरुबिच युद्धहरु भइरह्यो । बेलायत र फ्रान्सको औपनिवेषिक साम्राज्यलाई जर्मनी, इटाली र जापानले खोस्न खोज्दा प्रथम र द्वितीय विश्वयुद्ध भयो ।
द्वितीय विश्वयुद्ध पश्चात धेरै उपनिवेष अन्तर्गत रहेका मुलुकहरु स्वतन्त्र भए । उनीहरुलाई पुँजीवादी र समाजवादी देशहरुले आफ्नो पक्षमा राख्न खोज्दा पुन युद्धहरु भए । जसमा भियतनाम, कोरिया, अफगान युद्धहरु पर्दछन् । द्वितीय विश्वयुद्धमा जापानको हिरोशिमा र नागासाकीमा अणुवम खसाली महाशक्ति बनेको अमेरिका भियतनाम, कोरिया र अफगानीस्तान युद्धमा हारेपश्चात र समाजवादको पतन भई सोभियत संघको विघटन भएपश्चात विश्व बहुध्रुवीय बन्न पुगेको छ । यसले गर्दा क्षेत्रीय शक्तिहरुको महाशक्ति बन्ने लालसा बढेर गएको छ । भारतले अखण्ड भारतको सपना देख्नु, चीन ताइवानलाई आफुमा मिलाउन चाहनु, हिजोको सोभियत संघलाई रुसको नेतृत्वमा पुनः ब्युताउन चाहनु जसता कुराले गर्दा अहिलेको विश्वमा लडाईंको सम्भावना बढेर गइरहेको छ । अर्कोतर्फ ठूलो व्यापार घाटा व्यहोरिरहेको अमेरिका र ठूलो व्यापार बचत गरिरहको चीनबिचको व्यापार युद्ध पनि कतै साँच्चिकै युद्धमा नै परिणत हुने त होइन भन्ने शंकाको बादल मडारिरहेको छ ।
यस्ता कुराहरुले गर्दा कति राष्ट्रहरुले अब आफ्नो स्वतन्त्रता गुमाउने हो भन्न सकिने अवस्था छैन । अमेरिकी राष्ट्रपतिले दक्षिण एसियाको मामिला मोदिको जिम्मा लगाएपछि अब भारतले त्यसको फाइदा उठाउँदै सकेसम्म चाँडो अखण्ड भारत बनाउने सपना बुन्न शुरु गरिसकेको छ । भारतलाई अब आफ्नो छिमेकीमाथि कुन निहुँ निकालेर युद्ध गर्ने हो भन्ने ताल चढिसकेको छ र पहलगामलाई निहुँ बनाएर सके सिंगै पाकिस्तान खाने नसके सिन्ध, पञ्जाव र बलुचिस्तान गरी पाकिस्तानलाई ३ टुक्रा बनाउने, बंगलादेशमा हिन्दुमाथि ज्यादती भयो भन्दै बंगलादेशलाई पनि भारतमा गाभ्ने र हिन्दु राजतन्त्र पुनःस्थापना गर्ने नाममा नेपाललाई भुटानी मोडल अन्तर्गत भारतमा मिलाउने उद्देश्य बोकेर भारत अघि बढिरहेको छ । अमेरिकाबाट हिन्द प्रशान्त रणनीति अन्तर्गत ढाढस पाएको भारत अहिले मैमत्त छ र अहिलेको भारत–पाक युद्धको कारण पनि यहि हो ।
हिजो पाकिस्तालाई टुक्राएर बंगलादेश भन्ने स्वतन्त्र राष्ट्र बनाउँदा र सिक्किमलाई भारतमा मिलाउँदा भारतको पछाडि सोभियत संघको सहयोग र समर्थन थियो र अहिले अमेरिकाको समर्थन छ । तर त्यतिखेरको जस्तो टुलुटुलु हेरेर बस्ने अवस्थामा चीन अहिले छैन । भारत–अमेरिकी शक्ति मजबुत हुँदा हङकङ, मकाउ, तिब्बत र सिनज्याङ गरी चीन ५ टुक्रामा विखण्डन हुने खतरा प्रति चीन सजग छ भन्ने कुरा अहिलेको भारत–पाक शुरुवाती युद्धमा पाकको पक्षमा चीनको नैतिक समर्थनले स्पष्ट गरेको छ । यो नैतिक समर्थन यदि सामरिक समर्थनमा परिणत भयो भने चीन त होइन भारत भने चाहिँ विखण्डनको चपेटामा पर्न सक्छ । चीनमा निर्मित पाक वारहेड्सले भारतको फ्रान्समा निर्मित राफेल हवाई युद्धपोतलाई ध्वस्त गरेको परिप्रेक्ष्यमा अब भारत–पाक युद्धको आगो सजिलै शान्त हुने छाँटकाँट देखिँदैन ।
यसैबिच भारतमा रहेका ४० हजारभन्दा बढी गोरखाली सेनाले मोदिलाई पत्र काटेर नेपालको भारतद्वारा लुटिएको सीमा फिर्ता गर्नु अन्यथा पाक र चीन विरुद्ध आफुहरु लड्न नसक्ने चेतावनी दिएपछि भारतको विखण्डन तिव्र भई विशाल नेपाल बन्ने छाँट पनि बढेर गएको छ । झन् त्यसमाथि नेपालका माओवादी आतंककारीलाई सघाएर नेपालको राजतन्त्र मासेको आरोप भारतभित्रैबाट तत्कालिन भारतीय सरकारलाई लागेको परिप्रेक्ष्यमा भारत–पाक युद्ध दुईबिच मात्रै सिमित नभई भारतको विरुद्धमा क्षेत्रीय युद्धमा परिणत हुने अवस्थाको विकास नथाहापाउँदो किसिमले भईरहेको छ । पाकिस्तान जस्तो कमजोर राष्ट्रसँग लडी शक्ति क्षय गर्ने होईन चीन जस्तो बलियो राष्ट्रलाई पछार्ने हिम्मत भारतले राख्नुपर्छ र त्यसमा अमेरिकाले भारतको साथ दिनेछ भन्ने अमेरिकी राष्ट्रपतिको भनाईलाई विश्वास गर्ने हो भने भारत–पाकको अहिलेको युद्ध प्रोक्शी वार मात्रै हो भनेर बुझ्दा अन्यथा नहोला ।





0 comment