काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवताको भाग्यमात्र होइन भविष्य नै खतरामा पार्दै गएको बताएकी छन् । काठमाडौँमा आजबाट सुरु भएको सगरमाथा संवादको पहिलो संस्करकणको उद्घाटन सत्रमा उनले यस्तो धारणा राखेकी हुन् ।

उनले भनिन्, ‘जलवायु परिवर्तन अब कुनै क्षेत्र र देश विशेषको नभएर विश्वकै समस्या भएको छ, यसले सिंगो मानवतालाई नै संकटमा पार्दै गएको छ ।’

यही विश्वव्यापी संकटसँग जुध्नका लागि कुनै पनि देशको आफ्नो एक्लो प्रयास पर्याप्त नभएकाले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने खाँचो रहेको उनले बताइन् ।

यही सामूहिक प्रयासको सुरुआत सगरमाथा संवाद भएको स्पष्ट गर्दै राणाले ‘सगरमाथा संवाद’ ‘वादे वादे जायते तत्त्वबोधः’ भन्ने आदर्श वाक्यबाट प्रेरित रहेको बताइन् । ‘यो आदर्श वाक्यले हामीलाई बहस र संवादको भावनामा र फरक विचार र दृष्टिकोणको आदानप्रदान मार्फत सत्य कुराको खोजी र प्राप्तिका लागि प्रोत्साहित गर्दछ,’ उनले भनिन् ।

संवादले प्रतिबिम्ब र आत्मनिरीक्षणका लागि अवसर प्रदान गर्दछ भन्दै यस वर्षको सगरमाथा संवादको विषयवस्तु ‘जलवायु परिवर्तन, पहाड र मानवताको भविष्य’ रहेकाले यस विषयवस्तुभित्र रहेर अब विश्वले नै जलवायु परिवर्तनका समस्याहरुको पहिचान र तिनको निदानका लागि संयुक्त प्रयास आवश्यक रहेको पराराष्ट्रमन्त्री राणाको भनाइ छ ।

जलवायु परिवर्तनबाट नेपाल र विश्वकै वातावरण हाल जोखिममा रहेको भन्दै उनले इमानदार संवाद र प्रभावकारी कार्यको अभावले मानवताको भविष्यलाई पनि ठूलो खतरामा पार्न सक्ने भएकाले समयमै सबैले सोच्नुपर्नेमा जोड दिइन् ।

उनले नेपालले भने यसको संकट सबैभन्दा बढी मात्रामा झेल्नुपरिरहेका दृष्टान्त पेस गरिन् । राणाले भनिन्, ‘हाम्रा नदी, वन र पहाडहरूको संरक्षकको रूपमा हामी कार्यरत छौँ, तर पनि जलवायु परिवर्तनको नकारात्मक प्रभावको भारी र असमान बोझको सामना गर्न हामी बाध्य भएका छौं । यो गम्भीर अन्याय हो र यसलाई तुरुन्तै सम्बोधन गरिनुपर्छ, नत्र ढिलो हुनेछ ।’

त्यसैले उनले आजदेखि आगामी तीन दिनमा हामीले आफैंलाई जलवायु संकटको अस्तित्वगत खतरालाई कसरी सम्बोधन गर्ने, यस पृथ्वी र ब्रह्माण्डको स्वास्थ्य अवस्थाको पुन:स्थापित गर्ने र यसमा बस्ने मानिसहरूको कल्याण कसरी सुनिश्चित गर्ने भन्ने विषयमा सोध्नेछौं भनिन् ।

राणाले नेपालले हालैका वर्षहरूमा विनाशकारी तथा शृंखलाबद्ध गम्भीर मौसमी समस्या भोगिरहेको बताउँदै बाढी र हिमनदी विस्फोटन, खडेरी, पानीको अभाव र वन डढेलोजस्ता समस्याले देशभर ठुलो क्षति बनाएको धारणा राखिन् ।

परराष्ट्रमन्त्री राणाले भनिन्, ‘पृथ्वी मेरी आमा हुन् र म उनको सन्तान हुँ भन्ने सोचले सबैले पृथ्वी र प्रकृतिलाई माया गर्ने र कुनै क्षति नपुर्याउने गरी काम गर्न सकिएमा सबैको भलो हुने र जलवायु परिवर्तनको प्रभाव पनि कम हुनेछ । यसबाट हामीले हाम्रा पुर्खाको सम्पत्ति भोलिको पुस्तालाई हस्तान्तरण गर्न सक्नेछौँ ।’

विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनको तीव्र प्रभावहरूको असर कम गर्न हाम्रो क्षमता र स्रोत धेरै कम रहेकोले राष्ट्रिय र स्थानीय अनुकूलन योजनाहरू कार्यान्वयन गर्न नेपाललाई स्रोत आवश्यक परेको पनि उनले बताइन् । त्यसैले पनि नेपाल अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको वकालत गर्न निरन्तर अग्रपंक्तिमा रहेको पनि उनको स्पष्टोक्ति थियो ।

विश्वले नेपालजस्ता देशहरूको जोखिमलाई स्वीकार गर्नुपर्ने र  जलवायु वित्तका लागि सहयोग गर्नुपर्ने परराष्ट्रमन्त्री राणाको भनाइ छ । उनले भनिन्, ‘मलाई आशा छ कि यो मञ्च जलवायु परिवर्तन, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति, बसाइँसराइ, खाद्य सुरक्षा, मानवीय संकट र विपद् जोखिमजस्ता समस्याको समाधानमा एक अवसर हुनेछ ।’