काठमाडौं - प्रधानमन्त्री केपी ओलीले धर्तीमा बढ्दो तापमान र प्रदूषणका कारण मानवीय जीवन र पृथ्वीको भविष्य रक्षार्थ सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

सगरमाथा संवादको पूर्वसन्ध्यामा डा. गोपालकृष्ण शिवाकोटीद्वारा लिखित ‘क्लाइमेट कालामिटी : जस्टिस फर लस एन्ड ड्यामेज’ पुस्तकको आज (बुधबार) लोकार्पण गर्दै ओलीले हाम्रा भविष्यका सन्तति सुरक्षित र सम्मानति होउन् भनेर काम गर्नुपर्नेमा जोड दिए ।

‘धर्ती तातो र वातावरण प्रदूषित हुँदै गएर मानवीय जीवन र सुन्दर विश्वको भविष्य खतरामा पर्दै जान थालेको छ । यस्तो समयमा हामीले सुरक्षित माननीय जीवन र सुन्दर भविष्यको रक्षाका लागि काम गर्नुपर्छ,’ उनले भने, ‘हाम्रा भविष्यका सन्तति सुरक्षित र सम्मानति हुनुपर्छ । उनीहरुको चेहरामा हाँसो हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले सगरमाथा संवादका क्रममा जलवायु न्यायसम्बन्धी अध्ययन र प्रतिवेदनका सारलाई आफूले सम्बोधनमा समावेश गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौडेल, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा. सूर्य ढुंगेल र जलवायुविज्ञ मञ्जिल ढकालले पुस्तकको सान्दर्भिकताबारे समीक्षात्मक विचार प्रस्तुत गरेका थिए ।

सरकारले यही भोलि (जेठ २ गते) देखि पहिलोपटक नेपालमा सगरमाथा संवादको आयोजना गरेको छ ।