काठमाडौं - नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्री चयनको विषयलाई लिएर आन्तरिक विवाद चुलिएको छ। पार्टी संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठ समर्थकबीच मतभेद देखिएको हो।
पार्टी अध्यक्ष श्रेष्ठले बुधबार कैलाश चौधरीलाई मन्त्री बनाउने प्रस्तावसहित निर्देशनात्मक पत्र संसदीय दलमा पठाएकी थिइन्। तर सो सिफारिसलाई संसदीय दलले बेवास्ता गर्दै आफ्नै निर्णयअनुसार दलका नेता घनश्याम चौधरीको नाम सिफारिस गरेको छ।
प्रमुख सचेतक इन्दिरा गिरीका अनुसार, अबेर रातिसम्म चलेको संसदीय दलको बैठकले बहुमतको आधारमा घनश्याम चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको हो। बैठकमा घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी र खुशीराम डङ्गौरा सहभागी थिए। सात जना सांसदमध्ये लक्ष्मणकिशोर चौधरी र टीका थापा काठमाडौंमा रहेको र कैलाश चौधरी बैठकमा अनुपस्थित रहेको जनाइएको छ।
बैठकबारे आफूलाई जानकारी नदिएको आरोप लगाउँदै कैलाश चौधरीले अध्यक्षद्वारा सिफारिस गरिए पनि छलफलमा नबोलाएकोप्रति गुनासो व्यक्त गरेका छन्।
उनले संसदीय दलका नेता घनश्याम चौधरीमाथि एकलौटी निर्णय लिएको आरोप पनि लगाएका छन्। तर प्रमुख सचेतक गिरीले भने संसदीय दलको निर्णय नै वैधानिक भएको दाबी गरेकी छन्।
यद्यपि, संसदीय दलले घनश्याम चौधरीको नाम सिफारिस गरे पनि उनले आफैं मन्त्री बन्न अस्वीकार गरेको जनाइएको छ। यसले आगामी दिनमा दलभित्र शक्ति सन्तुलन र नेतृत्वको समीकरण अझ पेचिलो बन्न सक्ने संकेत देखिएको छ।


0 comment