काठमाडौं - सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीपीडितको राहत तथा नदीको तटवन्धका लागि सरकारले तत्काल कार्यक्रम ल्याउने भएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढी प्रभावित क्षेत्र सिपाघाट, भीमटार, बाहुनेपाटी, मेलम्ची बजार तथा हेलम्बुको वैशाख २९ गते स्थलगत अवलोकन गरेका थिए । अवलोकनबाट फर्किएलगत्तै मन्त्री खड्काको निर्देशनमा वर्षायाम सुरु हुनुअगावै काम गर्न १६ करोड रुपैयाँ व्यवस्था गरी तत्काल ठेक्का खोल्न निर्देशन दिएका हुन् ।

सिन्धुपाल्चोक प्रतिनिधिसभा २ बाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतको आग्रहमा बाढी प्रभावित क्षेत्रको स्थलगत क्षेत्रमा मन्त्री खड्कासहित राज्यमन्त्री खमबहादुर गर्वुजा, सिँचाइ सचिव सरिता दवाडी, सिँचाइ विभागका महानिर्देशक सन्जीव बराल, उपमहानिर्देशक सन्तोष कैनीलगायतको टोली पुगेका थिए ।

बाढी प्रभावित क्षेत्रमा बजेट व्यवस्थापन
२०७८ असार १ मा गएको विनाशकारी बाढीपछि मेलम्ची र हेलम्बु क्षेत्र मुख्य प्रताडित बनेको थियो । बाढीले सिपाघाटसम्म क्षति पुर्याएको थियो । सरकारका प्रधानमन्त्री, खानेपानीमन्त्रीदेखि भौतिकमन्त्रीहरु पटक-पटक मेलम्ची पुगे पनि कुनै काम हुन सकेको थिएन । तर पहिलोपटक स्थलगत अवलोकनमा पुगेका खड्काले वर्षायामबाट हुने क्षति रोक्न तत्काल १६ करोड बराबरको ठेक्का लगाएर काम गर्न निर्देशन दिए । सिँचाइ विभागका उपमहानिर्देशक सन्तोष कैनीले बाढी प्रभावित क्षेत्रमा केही दिनभित्रै १६ करोडको ठेक्का खोल्ने र कामको गति बढाउने बताए । मेलम्चीको बाढीले तिम्बु बजार, किउल बजार, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्ची बजार प्रभावित बनेको थियो ।