काठमाडौं - प्रधानमन्त्री केपी ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायांकन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (मंगलबार) चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले काभ्रेको बनेपामा निर्माण हुने स्टुडियो बन्न नेपाली चलचित्र क्षेत्रले ६ दशकदेखि आवाज उठाउनु परेको र अब बन्ने प्रक्रिया अघि बढेको बताए । ओलीकै पहिलो कार्यकालमा उक्त निर्माणको निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत कारणले काम अवरुद्ध भएको थियो ।
‘त्यसबेलाको जति अहिले राज्यको ढुकुटीमा पैसा छैन तर पनि थालेका काम हामी पूरा गर्छौं । यसका लागि त बजेट विनियोजन हुन्छ । थालेपछि सफल हुन्छ । यसलाई पनि सफल बनाउनुपर्छ । यो निर्माण आरम्भ उद्घोषले यस क्षेत्रमा युग परिवर्तन सुरु भएको छ,’ उनले भने, ‘ओरालो लागेको अर्थतन्त्रलाई हामीले लयमा ल्याएका छौं, अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन । हामी सिने क्षेत्रप्रति सधैं सकारात्मक र सहयोगी छौं ।’
बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा कार्यक्रममा सहभागी सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले साता-१० दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिए ।
कतिपयले राजनीतिमा पनि अभिनय गर्न थाले पनि आफूहरु राजनीतिलाई यथार्थमा बदल्ने साधनका रुपमा लिएर काम गरिरहेको ओलीको स्पष्टोक्ति थियो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा, बागमती प्रदेशका सांसद कञ्चनचन्द्र बादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याललगायतको सहभागिता थियो ।


0 comment