काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएकी छन्। काठमाडौंमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री राणाले संवाद व्यवस्थापन समितिका संयोजकको हैसियतमा संवादको तयारी सम्बन्धमा जानकारी दिएकी हुन्।
संवाद आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना हुनेछ। यसपटकको सगरमाथा संवाद ‘क्लाइमेट चेन्ज, माउन्टेन एण्ड द फ्युचर अफ ह्युम्यानिटी’ भन्ने मुख्य विषयमा केन्द्रित रहनेछ। जलवायु परिवर्तन, हिमाली पारिस्थितिकी, दिगो विकास, सहकार्य, मानवअधिकार र अन्तर्राष्ट्रिय साझेदारीजस्ता छ वटा मुख्य विषयमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवादको उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन्। त्यस अवसरमा परराष्ट्रमन्त्री राणाले स्वागत मन्तव्य दिने छिन् भने संवाद सम्बन्धी तयार पारिएको एक चिनारी भिडियो पनि प्रस्तुत गरिनेछ।
संवादमा चीन र भारतका विशिष्ट प्रतिनिधिमण्डल सहभागी हुनेछन्। त्यस्तै सिओपी–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिको जलवायु सम्बन्धी विशेष प्रतिनिधिले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्री राणाले जानकारी दिइन्।
संयुक्त राष्ट्रसंघका महासचिव एण्टोनियो गुटेरेसले पठाएको भिडियो सन्देश पनि सो अवसरमा प्रस्तुत गरिनेछ। संवादको उद्घाटन कार्यक्रम जेठ २ गते बिहान ९:३० बजे सुरु भई ११ बजे सम्पन्न हुनेछ। त्यसपछि ११:३० बजेबाट सुरु हुने पूर्ण सत्रमा सहभागी राष्ट्र, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरूका प्रतिनिधिहरूले संवादको मूल विषयमा आधारित रहेर आफ्ना धारणा प्रस्तुत गर्नेछन्।
हालसम्म २३ वटा प्रतिनिधिमण्डलले सहभागिता जनाइसकेको जनाइएको छ। प्रत्येक प्रतिनिधिमण्डलाई पाँच मिनेटको समय दिइनेछ। कार्यक्रम दिउँसो १:३० बजे सम्पन्न हुने बताइएको छ।


0 comment