काठमाडौं - प्रधानमन्त्री केपी ओलीसँग ‘अन्तर-संसदीय सभामुख सम्मेलन’ (आईएससी) का सहभागीले आज (मंगलबार) भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुभव आदानप्रदान गरिएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा (आईएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताएका थिए ।
भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा. मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ सियनका साथै जापानका (आईएससी) का सल्लाहकार मासाइची होरीलगायत अन्य सहभागी थिए ।
यस्तै नेपाली प्रतिनिधिका रुपमा (आईएससी) का नवनियुक्त महासचिव एवं नेपालका सांसद एकनाथ ढकाल, नेकपा (एमाले) का सचेतक सुनीता बराल र प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायतको सहभागिता थियो ।


0 comment