काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा सचेतक निशा डाँगीले जेनजी पुस्ताले विकासमा गति ल्याउने स्थिर सरकार चाहेको बताएकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले जेनजी पुस्ताको भविष्य सुनिश्चित गर्ने गरी नीति निर्माण गर्न सरकारसँग माग गरिन्। ‘हाम्रो पुस्ताले अब पाका नेताबाट आशा राखेको छैन,’उनले भनिन्, ‘हामी नयाँ अनुहार र नयाँ सोचको नेतृत्व चाहन्छौं।’
उनका अनुसार जेनजी पुस्ताले केवल डिग्री होइन, गुणस्तरीय शिक्षा, रोजगारी, उद्यमशीलतामा प्रोत्साहन, तथा सीप विकासका अवसरहरू पनि खोजिरहेको छ।
‘यस वर्ष जेनजीको बारेमा धेरै चर्चा भए, तर ती छलफलहरूले हाम्रो वास्तविक आवश्यकता बुझ्न सकेनन्,’ उनले भनिन्, ‘हाम्रो माग छ— स्थिर सरकार होस्, जसले विकासमा गति ल्याओस् र भविष्य सुनिश्चित गरोस्।’
डाँगीले नेतृत्वमा पुस्तान्तरण आवश्यक भएको उल्लेख गर्दै भनिन्, ‘हामी जन्मिनुअघि प्रधानमन्त्री भइसकेका नेताहरूको डेट एक्सपायर भइसक्यो। अब परिवर्तनको समय हो।’


0 comment