काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले जेठ १५ गतेका लागि घोषणा गरेको आन्दोलनलाई निस्तेज पार्न पार्टी कार्यकर्तालाई गाउँ-गाउँमा जाने अपिल गरेका छन्।
वाईसीएल नेपाल कर्णाली प्रदेशको सोमबार पहिलो सम्मेलन उद्घाटन गर्दै उनले पूर्वपञ्च र राजावादी शक्तिहरू मिलेर प्रतिक्रान्तिकारी षड्यन्त्र गरिरहेको आरोप लगाए।
‘उनीहरूको षड्यन्त्रलाई भण्डाफोर गर्न गाउँ–गाउँ, टोल–टोलमा पुग्नुपर्छ,’ प्रचण्डले भने, ‘राजावादीहरूको घुर्कीविरुद्ध देशभरका जनताले प्रतिवाद गर्नैपर्छ।’
उनले वर्तमान सरकार जनअपेक्षाअनुसार नचलेको स्वीकार्दै त्यसबाट उत्पन्न असन्तुष्टिलाई राजावादीहरूले दुरुपयोग गर्न खोजेको बताए। ‘सरकार उल्टो दिशामा हिँडेकाले जनतामा निराशा फैलिएको छ,’उनले भने, ‘ त्यसलाई राजावादीहरूले मौका मानेर आन्दोलन चर्काउने कोशिस गरिरहेका छन्।’
राजसंस्थाले विगतमा देशलाई पछि पार्ने काम गरेको उल्लेख गर्दै प्रचण्डले राजा र राजपरिवारको हत्या प्रकरणमा समेत नबोल्ने कायरता देखाउनेहरूलाई देश पुनः सुम्पनु नहुने तर्क गरे। उनले समाजवादी मोर्चाको संयुक्त प्रहारले राजावादीको बेलुन फुटिसकेको दाबी गर्दै अझै सतर्क रहनुपर्ने आवश्यकता औंल्याए।


0 comment