परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित नागरिक नै प्रजातन्त्रका पहरेदार रहेको बताएकी छन् ।

नेपाल प्रेस युनियनद्वारा आज (शनिबार) ललितपुरमा आयोजित लोमान्थाङ इन्टरनेसनल मिडिया समिटलाई सम्बोधन गर्दै यस्तो धारणा राखेकी हुन् । उनले भनिन्, ‘स्वतन्त्र प्रेसले नै प्रजातान्त्रिक शासन व्यवस्थाको पहरेदारी गर्न सक्दछ । त्यसैले प्रेस स्वतन्त्रता विनाको प्रजातन्त्र कल्पना गर्न सकिँदैन ।’

राणाले नागरिकको वाक तथा अभिव्यक्ति एवं प्रेस स्वतन्त्रता अहिलेको युगमा झन् अत्यावश्क र महत्त्वपूर्ण रहेको बताउँदै यही बाटो भएर मात्र लोकतान्त्रिक, समुन्नत र समावेशी समाज निर्माण गर्न सकिने तर्क गरिन् ।

त्यसैले वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले भनिन्, ‘सरकार सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ । नेपालको वर्तमान संविधानले मौलिक हकअन्तर्गत मात्र नभएर प्रस्तावनामा नै प्रेस स्वतन्त्रताको व्यवस्था गरेको छ । यसबाट पनि नेपालको प्रतिबद्धता स्पष्ट रुपमा झल्किन्छ ।’  

परराष्ट्रमन्त्री राणाले लोकतन्त्रले अहिले विविध खाले चुनौतीको सामना गरिरहेको र जसका कारण मुलुकका लोकतान्त्रिक संस्थाहरूप्रतिको विश्वास घट्दो देखिएको बताइन् । उनले यस्तो अवस्थामा लोकतन्त्र एवं नागरिक स्वतन्त्रताप्रति जनताको आशा जगाउने काममा प्रेसको महत्त्वपूर्ण भूमिका रहने बताइन् ।

फरक मतप्रतिको सम्मान गर्ने आधारभूत मूल्यमान्यतामा पहिलेभन्दा तीव्र रूपमा कमी आइरहेको वर्तमान अवस्थामा पत्रकारिताको महत्त्वपूर्ण भूमिका हुने र पत्रकारिताले नै सत्यको संरक्षण गरी फरक आवाजहरूका लागि मञ्च प्रदान गर्ने उनको भनाइ छ ।

राणाले मिसइन्फरमेसन र डिसइन्फरमेसनले अहिले नेपाल तथा अन्यत्र पनि नकारात्मकता फैलाइरहेकाले यस्ता गलत सूचनाको बाढीलाई रोकेर सत्यतथ्य र मर्यादित सूचना सम्प्रेषण गरी असल समाज निर्माणको अगुवाई गर्न समग्र सञ्चारकर्मीहरुलाई आग्रह गरिन् । उनले गलत सूचना सम्प्रेषणले प्रजातान्त्रिक प्रणालीमै आघात पुर्याउने भएकाले यस्ता गलत अभ्यासलाई रोक्न मिडियाकर्मीहरु आफैं लाग्नुपर्ने सुझाइन् ।

नेपालले जलवायु परिवर्तनका कारण अकल्पनीय क्षति व्यहोरिरहेको वर्तमान अवस्थामा यस विषयलाई पनि थिमका रुपमा राखेर मिडिया समिट आयोजना गरेकामा राणाले आयोजकलाई धन्यवाद पनि दिइन् ।

यसै विषयमा केन्द्रित रहेर नेपाल सरकारले यसै साता सगरमाथा संवादको आयोजना गरेको जानकारी दिँदै नेपालले विश्व मञ्चहरुमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति दर्शाउन यो सम्मेलन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको परराष्ट्रमन्त्री राणाको भनाइ छ ।

राणाले नेपालले अन्तर्राष्ट्रिय अदालत एवं विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्नो अवस्था दर्शाउँदै जलवायु न्यायको माग गरिरहेको प्रसंग उल्लेख गरिन् । उनले भनिन्, ‘नेपालको न्याय मागको यो अभियानलाई विश्वव्यापी बनाइदिन म यस मिडिया समिटमा उपस्थित विभिन्न देशका पत्रकार मित्रहरुलाई हार्दिक अनुरोध गर्दछु ।’