काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूहरूले समाजवादी क्रान्तिको तयारी सुरु गरेसँगै विभिन्न शक्तिहरूबाट घेराबन्दी र षड्यन्त्रको सामना गर्नुपरेको बताएका छन्।
२५औं निर्मल लामा स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राम्रो पार्टी बनाउन र सही बाटोमा अघि बढ्न खोज्दा बारम्बार षड्यन्त्रको सिकार हुनुपरेको बताएका हुन्।
‘अहिले फेरि हामी कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी, आदर्श र निष्ठाको मार्गतर्फ लैजान खोजिरहेका छौं,’ प्रचण्डले भने, ‘तर त्यसका लागि थुप्रै चुनौती छन्। ती चुनौतीहरूको सामना गर्दै हामी विचार, मुद्दा, वर्ग र समुदाय केन्द्रित गर्दै यथास्थितिविरुद्ध संघर्षमा जुटेका छौं।’ प्रचण्डका अनुसार भ्रम फैलाउने, राजनीतिक घेराबन्दी गर्ने र योजनाबद्ध षड्यन्त्र गर्ने प्रयास भइरहेको छ।
उनले समाजवादी क्रान्तिको मार्गमा अघि बढ्दा प्रतिक्रियावादी, संशोधनवादी र अवसरवादी शक्तिहरूले विभिन्न प्रकारका अवरोध सिर्जना गर्ने गरेको आरोप समेत लगाए।


0 comment