काठमाडौं - नेकपा एमालेले प्रतिनिधिसभाको आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।

पर्सि (आइतबार) प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसदहरूलाई आइतबारको बैठकमा अनिवार्य उपस्थित ह्विप जारी गरेका हुन् । मुख्य सचेतक बर्तौलाले बैठकमा उपस्थित भई सरकारको पक्षमा मतदान गर्न आग्रहसमेत गरेका छन् ।

एमालेले ह्विपमा भनेको छ, ‘सम्माननीय राष्ट्रपति महोदयले मिति २०८२ वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमार्फत प्रस्तुत गरिएको आ.व. ०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्विप जारी गरिएको छ।’