काठमाडौं - भारत र पाकिस्तानबीचको तनाव बढ्दै जाँदा नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर आतंकवादविरुद्धको लडाइँमा सधैँ साथ रहने जनाएको हो ।

‘आतंकवाद विरुद्धको लडाइँमा नेपाल सबैको साथमा उभिएको’विज्ञप्तिमा स्पष्ट पारिएको हो । छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने पनि नेपालले प्रतिबद्धता दोहोर्‍याएको छ । साथै नेपालले यस क्षेत्रको शान्तिको निम्ति दुवै देशलाई अपिलसमेत गरेको छ ।

‘२२ अप्रिल २०२५ मा भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि नेपाल सरकार भारत र पाकिस्तानबीच बढ्दो तनाव प्रति गहिरो चिन्तित छ । यस आक्रमणमा एक नेपाली नागरिकले पनि आफ्नो अमूल्य जीवन गुमाएका थिए,’ परराष्ट्रको विज्ञप्तिमा छ, ‘यस दुःखद समयमा नेपाल र भारत साझा शोक र पीडामा एकताबद्ध भएर उभिएका थिए । नेपालले सबै प्रकारका आतंकवादविरुद्धको दृढ अडानअनुरूप बर्बर आतंकवादी आक्रमणको तुरुन्तै र स्पष्ट रूपमा निन्दा गरेको थियो ।’

परराष्ट्रले दुई छिमेकी देशबीच बढ्दो तनाव कम हुने र यस क्षेत्रमा शान्ति बहाल रहनेमा आशावादी रहेको पनि जनाएको छ ।