काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं लोकतान्त्रिक आन्दोलनका योद्धा तीर्थराम डङ्गोलको निधनले सिङ्गो पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।
स्व नेता डङ्गोलको १३औँ पुण्य तिथिका अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले आज आयोजना गरेका श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले सादगी एवम् कर्मठ योद्धाको निधनले पार्टीका लागि मात्रै नभई सिङ्गो देश र समाजका लागि ठुलो क्षति भएको बताए ।
उनले कांग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा नेता डङ्गोलले निर्वाह गर्नुभएको भूमिका पार्टीले कदापी नबिर्सिने उल्लेख गर्दै नेता डङ्गोलको त्याग, सङ्घर्ष, अनुभव, जीवनशैली र समपर्णलाई समेटेर उपयोगी र सान्दर्भिक कृति प्रकाशित गर्न सुझाव दिए ।
नेता डङ्गोलसँगको लामो सम्बन्धको प्रसङ्ग उल्लेख गर्दै कांग्रेस सभापति देउवाले भने, ‘पार्टीका त्यागी एवं निष्ठावान् नेताको असामयिक निधनले पार्टीलाई गहिरो क्षति पुगेको छ । उनको विचार र आदर्शलाई आत्मसात् गरिकन पार्टीलाई सुदृढ र एकताबद्ध ढङ्गबाट अघि बढाउने प्रतिबद्धतासहित नेता डङ्गोललाई स्मरण गरौँ ।’
कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले डङ्गोलजस्ता स्वच्छ छवि भएका आदर्शवान् एवं लोकतान्तत्रिक आन्दोलनका अथक योद्धाको असामयिक निधनले समग्र राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्व डङ्गोलको सरल, आदर्शवादी र आचरणयुक्त व्यक्तित्वलाई सबैले अनुशरण गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
कांग्रेस नेता एवं पूर्वमन्त्री दीलेन्द्रप्रसाद बडूले स्व डङ्गोलको आदर्श र जीवनशैलीलाई आत्मसात् गरी सदैव देश र जनताका पक्षमा समर्पित हुनुपर्ने धारणा व्यक्त गरे ।
कांग्रेसका नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले इमानदारिता र आचरणको खडेरी परेको समयमा एक निष्ठावान् एवं सादगी नेताको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताए ।
कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र केसीले सरल र इमान्दार नेता डङ्गोलको निधनले कांग्रेसको मात्र नभई काठमाडौँको अभिभावक गुमाएको बताए ।
कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँले डङ्गोल सरल र सालीन व्यक्तित्व तथा जुनसुकै आन्दोलमा नेतृत्वदायी भूमिकामा रहेर योगदान गरेको भन्दै उनले देखाएको बाटोलाई अनुशरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कांग्रेस नेता दामोदर गौतम, ललितपुर कांग्रेसका सभापति जीतेन्द्रकुमार श्रेष्ठलगायतले डङ्गोलको निधनबाट कांग्रेसले आदर्श व्यक्तित्व गुमाएको बताए । स्व डङ्गोलकी धर्मपत्नी तेजमाया डङ्गोलले सभामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरिन् ।
काठमाडौँ कांग्रेसका पूर्वसभापति एवं प्रजातान्त्रिक योद्धा डङ्गोलको ७७ वर्षको उमेरमा यही वैशाख १२ गते निधन भएको थियो । विसं २००४ मा काठमाडौँमा जन्मिएका उनी कांग्रेस काठमाडौंको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौँ महानगरपालिकाको पूर्वउपप्रमुखसमेत हुन् ।
नेपाली राजनीतिमा जुझारू नेताका छवि बनाउनुभएका डङ्गोल विसं २०६२/६३ को जनआन्दोलनमा काठमाडौंको कमाण्डरका रूपमा खटिनुभएको थियो । नेता डङ्गोलका नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ ।


0 comment