काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले कुष्ठरोग नियन्त्रणका लागि स्पष्ट प्राथमिकता निर्धारण गरी प्रभावकारी रणनीति अनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

काठमाडौंमा बिहीबार सुरु भएको कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले हालसम्म गरिएको प्रयासमा तालमेलको अभाव रहेको र रणनीतिकरूपमा अघि बढ्न नसकेको स्वीकार गरे।

‘हामीले धेरै काम गरेका छौं, धेरैको सहकार्य पनि छ,’ उनले भने, ‘अपेक्षाअनुसार गति आएको छैन। प्राथमिकता प्रभावकारी ढंगले निर्धारण गर्न नसक्दा परिणाममुखी बन्न सकेका छैनौं।’

कुष्ठरोग नियन्त्रणका लागि आवश्यक रणनीति अख्तियार गर्न नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले कानुनमा व्यवस्था भए पनि कार्यान्वयनमा समस्या रहेको बताए। उनका अनुसार कतिपय कानुन अपूर्ण छन् भने कतिपय योजनाहरु परिस्थिति नबुझी निर्माण गरिएको कारण प्रभावकारी बन्न सकेका छैनन्।

मन्त्री पौडेलले भने, ‘हाम्रो योजनाको खाका र  प्राथमिकता हामीले नै तय गर्नुपर्छ। डोनर पार्टनरलाई पनि हाम्रो प्राथमिकता यही हो भनेर स्पष्ट भन्नुपर्छ।’ सम्मेलनमार्फत २०३० सम्ममा नेपालबाट कुष्ठरोग पूर्णरूपमा उन्मूलन गर्ने अठोट लिन जरुरी रहेको मन्त्री पौडेलको भनाइ थियो।