काठमाडौं - छिमेकी मुलुक भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनाव र पछिल्ला घटनाक्रमले नेपाली संसद्मा गम्भीर चिन्ता व्यक्त गरिएको छ।
प्रतिनिधिसभाको आज ( बुधबार) को बैठकमा विभिन्न सांसदहरूले युद्धको असर नेपालमा पनि पर्न सक्ने भन्दै सरकारलाई समयमै सजग र संवेदनशील बन्न आह्वान गरेका छन्।
सांसदहरूले छिमेकमा भइरहेका घटनाक्रमको गहिरो मूल्यांकन गर्दै सरकारलाई समयमै रणनीतिक सोच अपनाउन आग्रह गरेका छन्।
पूर्वपरराष्ट्रमन्त्री एवं सांसद एनपी साउदले हालै पाकिस्तानको सैनिक प्रतिनिधिमण्डलको नेपाल भ्रमण वर्तमान परिस्थितिमा उपयुक्त नभएको टिप्पणी गरे। भ्रमण पूर्वनिर्धारित भए पनि छिमेकमा यति संवेदनशील अवस्था भइरहँदा तत्कालका लागि स्थगन गर्नु कूटनीतिक रूपले उपयुक्त हुने उनको भनाइ थियो।
यस्तै सांसद सर्वेन्द्रनाथ शुक्लले नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको स्मरण गराउँदै आतंकवादजस्तो गम्भीर विषयमा स्पष्ट धारणा आवश्यक रहेको बताए।
उनले नेपाल असंलग्न राष्ट्र भए पनि आतंकवादका सन्दर्भमा स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताए। साथै, उनले हालै भारतको पहलगाममा भएको आतंकवादी आक्रमणको कडा निन्दा गरे।
कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तानबीचको युद्धले नेपालमा पार्न सक्ने अल्पकालीन र दीर्घकालीन प्रभावबारे सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। उनले भन्, ‘नेपाल-भारतबीच खुला सिमाना र भूराजनीतिक संवेदनशीलता रहेका कारण यो युद्धले हामीलाई प्रत्यक्ष–अप्रत्यक्ष असर गर्न सक्छ।
उनले राष्ट्रिय सुरक्षाका विषयमा राजनीतिक दलहरूबीच एकता र समन्वय आवश्यक रहेको औंल्याए। राष्ट्रिय हितका विषयमा दलहरू एकढिक्का भएर अघि बढ्नु पर्नेमा सांसद गौतमको जोड थियो ।
भारत र पाकिस्तानबीचको पछिल्लो सैन्य तनाव २२ अप्रिलमा भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणपछि सुरु भएको हो। भारतले हमलामा पाकिस्तान समर्थित समूहको संलग्नता रहेको भन्दै जवाफी रूपमा पाकिस्तानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती आक्रमणमा ८ जनाको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएका छन्।
यस्तो संवेदनशील अवस्थामा नेपालको कूटनीतिक सक्रियता र सतर्कता अत्यावश्यक रहेको
उनीहरूले बताए ।


0 comment