काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भएको ढिलाइ संस्थाभित्रकै समस्याका कारण भएको स्पष्ट पारेका छन्।
मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै देउवाले हालको सत्तारुढ गठबन्धनमा कुनै समस्या नरहेको दाबी गर्दै गभर्नर नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीका कारण ढिलाइ भएको चर्चा अस्वीकार गरे।
‘गठबन्धनमा कुनै समस्या छैन देउवाले भने, ‘गभर्नरको नियुक्ति ढिलाइ हुनु राष्ट्र बैंकभित्रकै कारणले हो, ओलीजीका कारण होइन।’
तर प्रतिपक्ष भने यस विषयमा फरक धारणा राख्दै आएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायतका नेताहरूले सत्तारुढ दुई दल-कांग्रेस र एमालेबीचको अविश्वासका कारण नियुक्ति प्रक्रिया लम्बिएको टिप्पणी गर्दै आएका छन्।
प्रतिनिधिसभामा भएको नीति तथा कार्यक्रमको छलफलमा पनि प्रतिपक्षी सांसदहरूले गभर्नरजस्तो संवैधानिक पद लामो समय खाली राख्नु गैरजिम्मेवार भएको भन्दै सरकारको आलोचना गरेका थिए।
देउवा र ओलीबीच गभर्नर नियुक्तिको विषयमा सहमति जुटिसकेको हुँदा चाँडै नै निर्णय हुने अपेक्षा गरिएको छ।


0 comment