काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूहरू अहिले सरकार ढाल्ने सोचमा नरहेको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिलेको सरकार आफैं कमजोर भएको र त्यसैले ढल्ने बताए। ‘हामी अहिले सरकार बनाउने होइन, जनतामा जाने तयारीमा छौं,’ उनले भने, ‘मध्यपहाडी लोकमार्गको अभियानमा जाँदैछौं। जादु चलाउन मन लागे चलाउन सकिन्छ, तर अहिले त्यस्तो तयारी छैन।’
त्यसो त प्रचण्डले सरकारमा हुँदा पनि कसैले हटाउन नसक्ने भन्दै आफूसँग जादुमय अंक रहेको बताउँदै आएका थिए । अप्रत्यासित रुपमा कांग्रेस र एमाले मिल्दा उनको दाजुमय अंकले कुनै भूमिका खेल्न सकेन ।
प्रचण्डले सरकार बदल्नका लागि देउवा वा अरू कसैलाई फकाउने पक्षमा पनि नरहेको स्पष्ट पारे । जनताले वर्तमान सरकारलाई मनैबाट हटाइसकेको दाबी गर्दै उनले सरकार आफैंनै बोझले ढल्ने बताए। आफूहरुको ध्यान अहिले सरकारतिर भन्दा पनि अभियानमा भएको समेत जिकिर गरे।


0 comment